सीएनआईको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन चैत १७ र १८ गते चितवनमा हुने

नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (CNIWLF) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन- २०२४ (Women Leadership Agriculture Summit- 2024) यही चैत १७ र १८ गते चितवनमा हुने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका र चितवन उद्योग संघसँगको सहकार्यमा यो सम्मेलन आयोजना गर्न लागेको नेपाल उद्योग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलता भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाइ छ ।
सम्मेलनमा कृषिमा नवप्रबद्र्धन, दीगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताउनुभयो ।
उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीहरुको सशक्तिकरण तथा प्रवर्द्धनको समेत काम गर्दै आएको छ । उक्त फोरमले समावेशी, सशक्तिकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकतामा राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको हो ।
सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौति तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरुलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरु पेश गरिने महिला नेतृत्व फोरम सभापति छायाँ शर्माले जानकारी दिनुभयो । सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरुको प्रदर्शनी समेत गरिने बताइएको छ । सम्मेलनको समुद्घाटन नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्री ज्वालाकुमारी साहले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सम्मेलनको सहयोगी संस्थाहरूमा यूएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक र एग्री नेपाल, शिखर इन्स्योेरेन्स रहेका छन् ।

नेपाल उद्योग परिसंघको महिला नेतृत्व फोरमले गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सम्पन्न गरेको थियो ।

Leave a Reply