सीएनआई र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्ने समझदारी

नेपाल उद्योग परिसंघ (CNI) र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री (NUAECCI) बीच दुई देशबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्ने समझदारी भएको छ । बुधबार नेपाल उद्य‍ोग परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्य‍‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रीका अध्यक्ष पवनकुमार अग्रवालले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले अग्रवालले यस सहकार्यको मुख्य उद्देश्य दुवै देशबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन तथा लगानी सहजीकरण गर्नु रहेको बताउनुभयो । नेपाल उद्य‍ोग परिसंघले विदेशी लगानीकर्ता तथा व्यवसायीहरुसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेर विभिन्न द्विदेशीय तथा अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सहकार्य गर्दै आएको बताउदै अध्यक्ष अग्रवालले ‘यो सहकार्य दुवै संस्थाले आफ्नो देशको हितमा लगानी भित्र्याउन, नेपालको निर्यातको सम्भावना बढाउन तथा नेपाल यूएई बीच व्यवसाय प्रवर्द्धन गर्न उपयुक्त हुने छ’, भन्नुभयो । उहाँले आगामी लगानी सम्मेलनका लागि युएईबाट लगानीकर्ताहरुलाई आकर्षित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल यूएई चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रीका अध्यक्ष पवनकुमार अग्रवालले चेम्बरको उद्देश्य चेम्बरसँग जोडिएका उद्योगी व्यवसायीहरुसँग सहकार्य गरी नेपाल र यूएईबीच व्यवसायिक सम्बन्ध अभिवृद्धि गर्नु रहेको बताउनुभयो । उहाँले नेपाल उद्योग परिसंघसँगको सहकार्यले लगानी प्रवर्द्धन, नेपालका वस्तु तथा सेवा निर्यात प्रवर्द्धनको वातावरण बनाउनुका साथै प्रविधि हस्तान्तरणमा पनि भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा धेरै सम्भावना भएपनि त्यसलाई पुँजीकरण गर्न नसकिएको भन्नुहुँदै त्यसका लागि नेपाललाई ठुलो लगानीको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाल जस्तो मुलुकको औद्योगिक तथा व्यवसायिक वृद्धिका लागि आर्थिक लगानी मात्र नभएर प्रविधि र सीपको पनि आवश्यकता रहेकोले युएईबाट एक्स्पर्टिज ल्याउन यस सहकार्यले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न मुलुकमा रहेका गैर-आवासीय नेपाली तथा व्यवसायिक संघ संस्थाहरुसँग समन्वय गरी नेपालमा वैदेशिक लगानी आकर्षित गर्न, नेपाली उत्पादनहरुलाई विदेशी बजारमा पहुँच बिस्तारमा मद्दत गर्ने लगायतका उद्देश्य अनुरुप नेपाल उद्योग परिसंघले नेपाली डायस्पोरा समन्वय समिति बनाएर काम गरिरहेको जानकारी गराउँदै उहाँले यो समझदारीले उक्त कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply