स्थानीय तह उप-निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज उम्मेद्वारहरु र उनीहरुका सहयोगी तथा समर्थकहरु मतदाताहरुसँग मत माग्न व्यस्त देखिएका छन् । उम्मेद्वारहरु मतदाताहरुको समर्थन आफनो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । भरे राती १२:०० बजेबाट मौन अवधि शुरु हुने भएकोले उम्मेद्वारहरु र तिनका सहयोगी र समर्थकहरुलाई आज मत माग्न भ्याईनभ्याई छ । यो उप-निर्वाचनमा ४४ पदमा ४१० जनाले उम्मेद्वारी मनोनयन गरेपनि पछि ३१ जनाले उम्मेद्वारी फिर्ता लिदा ३ पदमा निर्विरोध भएपछि ४१ पदमा राजनीतिक दलहरु तथा स्वतन्त्र गरी ३७६ जना उम्मेद्वार चुनावी मैदानमा छन् । यही मंसिर १६ गते काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर , जाजरकोटको नलगाड नगरपालिकाको उप-मेयर, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष तथा दोलखाको गौरीशंकर गाउँपालिका , रुकुम (पूवी भाग)को पृथा उत्तरगंगा गाउँपालिका , हुम्लाको सार्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउपालिकाको उपाध्यक्ष पदका साथै ३३ वटा वडाध्यक्ष पद सहित ४१ पदमा निर्वाचन हुदैछ । रिक्त ४४ पदमध्ये जिल्ला समन्वय समिति, ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई, जिल्ला समन्वय समिति , कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी (भुल) र पृथा उत्तरगंगा गाउँपालिका वडा नं.२ का वडाध्यक्ष पदमा नेकपा (माके)का जगत घर्तीको मात्रै उम्मेद्वारी परेकोले त्यहाँ उनीहरु निर्विरोध निर्वाचित भएका छन् । यो उप-निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नेकपा (एस)का उम्मेद्वार भानु रिजालले नेकपा (माके)का उम्मेद्वार प्रा.डा शिवशरण महर्जनलाई र सोही नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेद्वार राजमान महर्जन ‘मानव’लाई धरानका उप-महानगरपालिकाका मेयर हर्कराज राई सम्पाङले लगायतले समर्थन गरेका छन् । यता पृथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेेका छन् ।





