११ बुँदे घोषणा-पत्र जारी गर्दै काठमाडौंमा जारी ३ दिन दिवसीय सहकारी महासम्मेलन शनिबार सम्पन्न भयो । राष्ट्रिय सहकारी महासंघ लि., नेपाल र भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजनामा “सहकारीको दिगोपनाको लागि स्वनियमन र सुशासन” भन्ने नाराका साथ यही चैत्र २३ गतेदेखि शुरु भएको यो महासम्मेलनमा पूर्व अर्थ मन्त्री ङा. युवराज खतिवडा लगायतले आ-आफ्ना विचार प्रस्तुत गर्नु भयो ।


महासम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी अभियानको महत्वको बारेमा चर्चा गर्दै सहकारी अभियान सच्चिनु पर्नेमा जोड दिनु भएको थियो । यसैगरी शनिबार महासम्मेलनको समापन गर्दै पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले जब अर्थतन्त्रमा संकट आउँछ, तब सहकारीको आवश्यकता पर्ने भन्दै राम्रो प्रतिफल हासिल गर्न सहकारीले सदस्यहरुको विश्वास जित्ने गरी काम गर्नु पर्ने बताउनुभयो ।
महासम्मेलनमा आफ्नो विचार व्यक्त गर्दै पूर्व अर्थ मन्त्री डा.खतिवडाले कतिपय सहकारी संस्था विकास बैंक भन्दा पनि ठूलो भएकोले सहमारीको अनुगमन नेपाल राष्ट्र बै्कले नभई राज्यको अर्कै संयन्त्रले गर्नु पर्ने बताउनुभयो । महासम्मेलनमा विचार व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि., नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सन् २०३० सम्ममा सहकारी मर्ज गरी ३० हजारको संख्याबाट घटाएर १० हजारमा झार्ने लक्ष्य रहेको बताउनुभयो ।






