काठमाडौंको ताहाचलमा आफ्नै भवनमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी लि.को १४औं बार्षिक साधारण सभा २०७९ पुस ३० गते शनिबार काष्ठमण्डप भेन्यू, भिमसेन स्थानमा सो सञ्चालक समितिका अध्यक्ष प्रेमकृष्ण मानन्धरको अध्यक्षता तथा काठमाडौं क्षेत्र नं.८(क) बाट नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । साधारण सभाको प्रमुख अतिथि बज्राचार्यले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

उक्त अवसरमा प्रमुख अतिथि बज्राचार्यले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
गत आ.व.मा यस संस्थाले विषम आर्थिक परिस्थितिको सामना गर्दै अत्यन्त संयमित भई व्यवसाय सञ्चालन गर्नुका वावजुद केही वित्तीय सूचकाङ्कहरूमा सन्तोषजनक उपलव्धि हासिल गर्न नसकेकाले सदस्य ऋणीहरुको व्यवसाय तथा परियोजनामा असर परेका कारण केही कर्जा पूर्नतालिकीकरण तथा पुर्नसंरचना गर्नुका साथै केही कर्जामा ब्याज तथा हर्जानामा सहुलियत प्रदान गरिएको र यस लचकताबाट सम्बन्धित सदस्य ऋणीहरुमा राहत पुग्नुका साथै आफ्नो व्यवसाय तथा परियोजना उकास्न मद्दत पुगेको भताउनुभयो । हाम्रो यो संस्थाले आफ्नो भवन खरीद गरेको तथा वाणिज्य बैंकहरुको व्याज दरमा भएको वृद्घि लगायतको कारणले संस्थाको लगानी योग्य रकमको लागत बढ्न गएको छ भने ऋण प्रवाहमा लिन पाइने व्याजदरको उच्चतम सीमा पुरानै कायम रहेको र सदस्यहरुको बचतमा दिने व्याज दर र ऋणमा लिने व्याजदर बीचको फरक कम हुँदै जाँदा संस्थाको व्यवसाय दिगो बनाई राख्न थप पूँजी तथा जगेडा कोषको आवश्यकता महशुस भएको उहाँको भनाई छ । देशमा व्यवसाय अनुकूल वातावरण बन्दै गरेको परिप्रेक्षमा संस्थाले आफू स्वस्थ रही आफ्ना सदस्यहरुको सेवामा निरन्तर लागि रहन केही कार्यनीतिहरु अपनाउने बताउदै उहाँले मुख्यतः यस संस्थले सञ्चालन खर्चमा मितव्ययिता अपनाउने, कर्मचारीहरुको दक्षता अभिवृद्घि गर्ने, व्यवसाय विविधिकरण गर्ने तथा नयाँ व्यवसायहरुको अध्ययन गर्ने तर्फ ध्यान दिने छ’,भन्नुभयो ।
साधारण सभामा सो संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक बिमल श्रेष्ठले आ.व. २०७९/०८० मा यस संस्थालाई नाफामा लैजानको लागि भाखा नाघेको कर्जा असुलीमा अत्यधिक मात्रामा जोड दिई कार्यक्रम सञ्चालन गर्नुको साथै कार्यालय सञ्चालन खर्चमा समेत कतौटी गर्ने र उत्पादनमूलक तथा आयमूलक व्यवसायमा लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी साधारण सभामा संस्थाका कोषाध्यक्ष रमेशध्वज बस्नेतले रु. १ करोड ५४ लाख २० हजार वित्तीय लगानी सहितको संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।साधारण सभामा संस्थाका प्रवन्ध निर्देशक राजेन्द्रकृष्ण श्रेष्ठले संस्थाको सञ्चालक समितिको आर्थिक वर्ष ०७८/ ०७९ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस बर्ष पनि देखा परेको आर्थिक मन्दी तथा तरलताको कमिको प्रभावले गर्दा संस्थाको कार्यक्रमहरु र लक्ष्यहरु पूरा गर्न साह्रै कठिन भएको र यस्तो विषम परिस्थितिमा पनि सदस्यज्यूहरुले संस्थाप्रति दिदै आउनुभएको माया र साथको लागि बिशेष धन्यबाद ज्ञापन गर्नुभयो । संस्थाबाट आ.ब. २०७९/०८० मा सञ्चालक र कर्मचारीहरुको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिने तथा अन्य संघ संस्थाले आयोजना गरेका तालिमहरुमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप-समितिहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि तालिमहरु तथा कार्यक्रमहरुमा सहभागिता गराउने बताउनुभयो ।
साधारण सभामा त्यसै संस्थाका सञ्चालक समितिका उपाध्यक्ष विश्वकल्याण बड्गामीले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
४५० जना सदस्यहरु तथा सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु र संस्थाका कर्मचारीहरुको उपस्थितिमा प्रमुख बज्राचार्यलाई सम्मान-पत्र सहित भब्य सम्मान गरिएको थियो ।






