चैनपुर/ नेकपा (एमाले)का सांसद राजेन्द्र गौतमको घर भएको संखुवासभाको चैनपुर नगरपालिका वडा नं.७ मा नेकपा (एमाले)लाई झड्का लागेको छ । यही बैशाख ३० गते सम्पन्न निर्वाचनमा चैनपुर नगरपालिकाको मेयरमा कृष्णकुमार तामाङ , उप-मेयरमा एलिना श्रेष्ठ सहित वडा नं.१,२,३,४,५ र ६ मा नेकपा (एमाले)को पुरै प्यानल जितेपनि सो वडामा भने नेकपा (एमाले)का वडा अध्यक्ष र वडा सदस्यका उम्मेद्वारहरु गठबन्धनका उम्मेद्वारहरुसँग पराजित भएसँगै यो अवस्था देखिएको हो । उक्त वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार नगेन्द्र कार्की विजयी हुनुभयो । कार्की सहित उक्त गठबन्धनका घटक नेपाली कांग्रेसका ३ जना वडा सदस्य र नेकपा (माके)का १ जना वडा सदस्यले जीत हासिल गरेका छन् ।
यस पटकको चुनावमा वडा अध्यक्षमा पराजित नेकपा (एमाले) पदम तामाङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा त्यसबेलाका नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार नगेन्द्र कार्कीलाई झिनो मतान्तरले पराजित गरी सोही वडाको वडा अध्यक्ष बन्नुभएको थियो । आफ्नो ५ वर्षीय कार्यकालमा राम्रो वडा अध्यक्षको छवि बनाएका नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेद्वार तामाङ यस पटक भने गठबन्धनका वडा अध्यक्षका उम्मेद्वार नगेन्द्र कार्कीसँगै ४५ मतान्तरले पराजित हुनुभयो ।
चैनपुर नगरपालिकाको वडा नं.७,८,९,१० र ११ मा गठबन्धन दलका उम्मेद्वार विजयी भएका छन् ।